January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

भारतको नौ राज्यमा फैलियो बर्ड फ्लु

  • 13
    Shares

नयाँदिल्ली, भारतका विभिन्न राज्यमा बर्ड फ्लु फैलिएको छ । यो संक्रमण कम्तीमा पनि नौ राज्यमा पुगिसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।

पछिल्लो समय भारतको केन्द्रीय राजधानी नयाँदिल्ली र महाराष्ट्रको पश्चिमी भेगमा पनि बर्ड फ्लु देखिएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

यसैबीच दिल्ली आसपासमा दुई सयभन्दा बढी चरा (धेरैजसो काग) मृत अवस्थामा भेटिएपछि नयाँदिल्लीस्थित घाजीपुर होलसेल पोल्ट्री मार्केट प्रशासनले बन्द गरेको छ । यो बजार यस क्षेत्रको सबैभन्दा ठूलो हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमणको जोखिमलाई ख्याल गर्दै प्रशासनले पार्क, तालतलैयालगायत क्षेत्रमा भ्रमण गर्न रोक लगाएको छ । मुम्बईबाट करिब पाँच सय किलोमिटर टाढाको परवानी जिल्लाका कलेक्टर मधुकर मुग्लिकरले भने, ‘मृत भेटिएका पन्छीहरूको नमुना परीक्षणका लागि पठाइएको थियो । परीक्षण नतिजाले बर्ड फ्लु नै भएको पुष्टि गरेको छ ।’ यसकारण यो क्षेत्रमा रहेका आठवटा पोल्ट्री फर्मका आठ हजार कुखुरा नष्ट गर्न निर्देशन दिएको उनले बताए ।

यसैगरी आइतबार मात्रै उत्तर प्रदेश सरकारले कानपुरमा रहेको चिडियाखाना बन्द गर्न निर्देशन दिएको थियो । चिडियाखानाका जंगली कुखुरा र दुईवटा सुगा मृत अवस्थामा फेला परेपछि नमुना परीक्षण गराउँदा बर्ड फ्लु पुष्टि भएको थियो ।

कानपुर जिल्ला पशु कार्यालय प्रमुख आरपी मिश्राका अनुसार चिडियाखानानजिकै रहेको पोल्ट्री फार्मका कुखुराहरू पनि मार्ने प्रक्रिया सुरु भएको छ । चिडियाखाना आसपासका १० किलोमिटर क्षेत्रमा पन्छी बिक्रीमा रोक लगाइएको छ । उत्तर प्रदेशका अन्य क्षेत्रमा भेटिएका मृत पन्छीको पनि नमुना परीक्षण भइरहेको भोपालस्थित केन्द्रीय प्रयोगशालाले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको