
काठमाडौं, कोरोना महामारीको लामो बन्दाबन्दीपछि पटक-पटक बन्द हुँदै खुल्दै गरेको नेपाल-चीन बीचको तातोपानी नाका केही समयको लागि फेरि बन्द हुने भएको छ ।
गत बर्खामा आएको भोटेकोसी बाढीले क्षती पुर्याएको मितेरी पुल मर्मत गर्नको लागि नाका पुनः बन्द गर्न लागिएको हो । भोटेकोसी बाढीले पुलको जगमा क्षती पुगेको हुनाले आगामी जनावरी २० बाट करिब २० दिनको लागि चीनिया पक्षले नाका बन्द गर्न लागेको हो ।
२०७२ सालको भूकम्पपछि अस्थिर रहेको उक्त नाका हाल सञ्चालना आइरहेको भएपनि पुल मर्मत नगरे जुनसुकै बेला दुर्घटना हुनसक्ने भयका कारण चीनिँया पक्षले नाका बन्द गरेर पुल मर्मत गर्न लागेको हो ।
पुल मर्मतको लागि जाङ्बु प्रशासनले नाका बन्द गर्ने भएको हो । बाढीले मितेरी पुल जगको दायाँबायाँ क्षति पुर्याएकाले मर्मतका लागि नाका बन्द गरिने जानकारी जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गरेको छ ।
तर नेपाल तर्फको तातोपानी भन्सार कार्यालयले भने यस विषयमा आफुलाई आधीकारीक जानकारी नआएको बताएको छ । भन्सार कार्यालयका प्रमुख लालबाहादुर खत्रीले दुई देशबीचको सीमाक्षेत्र भएकाले छलफल गरेर मात्रै मर्मत गर्नुपर्ने बताएका छन् ।






