
काठमाडौं, कसुर अनुसार सजाय भोग्नु कानुनी सजाय हो । तर बिनाकसुर २८ वर्ष जेल बस्नुपर्दा कति पीडा भयो होला त निर्दोषलाई ? एक निर्दोषलाई जेलमा राख्नु सरकारलाई कतिसम्म भारी पर्न सक्छ भन्ने उदाहरण अमेरिकामा देखिएको छ ।
अमेरिकामा हत्या आरोपमा एक व्यक्तिलाई २८ वर्षसम्म जेलमा राखिएको थियो । पछि निर्दोष साबित भएपछि सरकारले करोडौं क्षतिपूर्ति तिर्नुपरेको छ ।
हत्या आरोपमा एक अश्वे व्यक्ति चेस्टर हलम्यानलाई २८ वर्षसम्म जेलमा राखिएको थियो । यो केसको जाँच पनि २८ वर्षसम्म नै चलेको थियो । पछि यो केसमा जेलमा राखिएका व्यक्ति निर्दोष ठहरिए । लामो समय बिना अपराध जेलमा बस्नुपरेको बाध्यतालाई मध्यनजर गर्दै सरकारले करोडौं रुपैयाँ क्षतिपूर्तिवापत चुकाउनुपरेको छ ।
राज्य सरकारले यो केसमा जेलमा राखिएका व्यक्तिसँग माफी माग्दै मुद्दा फिर्ता लिएको छ । गत बुधबार फिलाडेल्फिया प्रशासनले कारबाही गर्दै मुआब्जा दिने घोषणा गरेको हो ।
निर्दोष पाइएपछि हलम्यानलाई एक अर्ब १५ करोड रुपैयाँ क्षतिपूर्ति दिएको छ । यो मामला दुवै पक्षको सहमतिमा सल्टाइएको छ । फिलाडेल्फियाका मेयर जिम केन्नीले आजादीको कुनै मूल्य नहुने बताएका छन् । साथै चेस्टरले भने २८ वर्षपछि स्वतन्त्र हुँदाको अनुभव साझा गरेका छन् ।
उनले जेलभित्रको जीवन निकै दुःखद भए पनि स्वतन्त्र भइसकेपछि प्रशन्नता छाएको बताएका छन् ।






