
गाजियावाद, भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले भएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ ।
घटनालगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ ।
मेरठका विभागीय आयुक्त सी मेश्रामका अनुसार हालसम्म १७ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन् । घाइते सबैको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्रीले सो घटनाबारे जानकारी लिएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले भने, “दुखद् घटना भएको छ । मैले जिल्ला अधिकारीहरूलाई राहत अभियान सञ्चालन गर्न निर्देशन दिएको छु ।”
“घटनाबाट प्रभावित सबैलाई सम्भावित सबै सहयोग प्रदान गरिनेछ,” उनले भने । केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले उक्त घटनामा मृतकको परिवारप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
घटनास्थलमा उपस्थित व्यक्तिका अनुसार पीडितहरू आफ्नो आफन्तको अन्तिम संस्कारमा सहभागिता जनाउन गएका समय दाहसंस्कारस्थलको कौसी भत्किएपछि छानो खसेको थियो ।
मृतकमध्ये अधिकांश व्यक्तिहरू घटनास्थलमा नै मृत भेटिएका थिए भने केहीको अस्पतालमा पुगेपछिउपचारका क्रममा मृत्यु भएको थियो ।एजेन्सी






