April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

बम विस्फोटमा वरिष्ठ अफगान अधिकारीको मृत्यु, दुई सुरक्षाकर्मी गम्भीर घाइते

काबुल, अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगीसहित अर्का एक व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिएको बताएका छन् ।

दुबै सरकारी पदाधिकारी चढेको सवारी साधनमा बम राखेर रिमोटबाट पड्काइएको बताउँदै प्रवक्ता तारिकले सवारी साधनमा रहेका दुई सुरक्षाकर्मी गम्भीर घाइते भएको जानकारी दिएका हुन् ।

आक्रमणबाट सवारी साधन पनि नराम्रोसँग क्षतिग्रस्त भएको छ । प्रवक्ता तारिकले उक्त घटनाको अनुसन्धान भइरहेको बताए । उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर अफगान सरकारी अधिकारीहरुले उक्त आक्रमण विद्रोही तालिबानले गराएको दाबी गरेका छन् ।

हालैका महिनाहरुमा अफगानिस्तानका ठूला शहरहरुमा तालिबान समूहले घुसपैठ गरी सिलसिलाबद्ध आक्रमण जारी राखेको अफगानी अधिकारीहरुको भनाई छ ।

मङ्गलबार नै काबुलकै पूर्वी क्षेत्रमा सशस्त्र लडाकूले प्रहार गरेको गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान जानुका साथै अरु दुई प्रहरी घाइते भएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको