March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अमेरिकामा कोभिड-१९ खोप प्रयोग सुरु 

वासिङ्टन, कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको मुलुक अमेरिकाले सोमबारदेखि खोप अभियान सुरु गरेको छ । आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर–बायोएनटेक खोप’ अमेरिकामा पनि सोमबारदेखि प्रयोगमा आएको हो ।

अमेरिकी नियामक निकायले उक्त खोप प्रयोगका लागि शनिबार अनुमति दिएको थियो । अमेरिकामा कोरोनाको पहिलो खोप लङ्ग आइल्यान्डको एक अस्पतालमा कार्यरत नर्स सान्ड्रा लिन्ड्सेलाई लगाइएको हो ।

सोमबार करिब १५० अस्पतालमा कोरोना खोप वितरण गरिएको बताइएको छ । अमेरिकाले आउँदो वर्षको अप्रिल महिनासम्ममा १० करोड नागरिकलांई कोरोना खोप लगाइसक्ने बताएको छ ।

अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिममा रहेका समूहका नागरिकलाई खोप दिइनेछ । सो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानाडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए ।

विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण हालसम्म १६ लाखभन्दा मानिसको मृत्यु भइसकेको छ । तीमध्ये अमेरिकामा मात्रै ३ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । उक्त खोप ७० डिग्री सेल्सियसको तापक्रमसहितको विशेष अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

‘अत्यावश्यक परेका सबैलाई हामीले खोप राम्रोसँग उपलब्ध गराउन सक्छौं भन्ने हामीलाई विश्वास छ, त्यहीअनुसार काम भइरहेको छ,’ खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका एक अमेरिकी अधिकारीले भने ।

उनीहरुका अनुसार सुरुमा यो सप्ताहन्तसम्ममा ३ करोड मात्रा खोप सबै राज्यहरूमा पठाउने कार्य भइरहेको छ । दैनिक मृतकहरुको संख्या उच्च हुँदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको