आफ्नो पक्षमा नतिजा उल्ट्याउन ट्रम्पको दबाव

न्युयोर्क, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाका गभर्नरलाई आफ्नो पक्षमा नतिजा उल्ट्याउन दबाव दिएका छन् । राष्ट्रपति ट्रम्पले आफू पराजित भएको राज्य जर्जियाका रिपब्लिकन गभर्नर ब्रायन केम्पलाई राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन पुनः दबाव दिएका हुन् ।
राष्ट्रपति चुनावमा पराजित भएपछि पहिलोपटक जर्जियामा आगामी जनवरीमा हुने दुई सिनेट सिटको रनअफ चुनावका लागि सभा गर्न पुगेका ट्रम्पले नतिजा उल्ट्याउन भनेका छन् ।
आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका ट्रम्पले जर्जियामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितलाई खारेज गर्दै आफ्नो पक्षमा नतिजा उल्ट्याउन दबाव दिएका हुन् ।
शृङ्खलावद्ध ट्वीटमार्फत गभर्नर केम्पलाई राज्य संसदको विशेष अधिवेशन बोलाउन आग्रह गरेको केही घण्टापछि ट्रम्प जर्जियाको चुनावी सभामा पुगेका थिए । जर्जियामा तीन पटक भएको गणनामा बाइडेन नै विजयी भएका छन् ।
गएको नोभेम्बर ३ तारिखमा सम्पन्न चुनावमा राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३ सय ६ मत जित्ने निश्चित भएको छ । राष्ट्रपति चुनावमा जर्जियाको हार जित प्रमुख राज्यका रुपमा देखिएको थियो ।
बाइडेनले त्यहाँ साँघुरो जित निकालेका छन् । सन् १९ सय ९२ पछि पहिलोपटक राष्ट्रपति चुनावमा जर्जियाबाट डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन् । राज्यका दुई सिनेट सिटमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेका कारण त्यहाँ रनअफ चुनाव हुँदैछ ।एजेन्सी
प्रतिकृया दिनुहोस्