September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

भ्याक्सिन लगाएका हरियाणाका स्वास्थ्यमन्त्रीलाई कोरोना पुष्टि

काठमाडौं, कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका भारतको हरियाणा राज्यका गृह तथा स्वास्थ्यमन्त्रीमा कोरोना भाइरस संक्रमण देखिएको छ । भ्याक्सिन लगाएको केही दिनपछि जाँच गर्ने क्रममा स्वास्थ्यमन्त्री अनिल भिजमा संक्रमण पुष्टि भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

शुक्रवार राति शारीरिक दुखाईका साथै ज्वरो देखिएपछि शनिवार बिहान एन्टीजेनमार्फत परीक्षण गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।
त्यसपछि पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ नै देखिएको मन्त्री अम्बलाका चिफ मेडिकल अफिसर कुलदीप सिंहलाई उधृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।


मन्त्री भिजले भारत बायोटेकले निर्माण गरेको कोभैक्सिन डोज लिएका थिए । उनले गत नोभेम्बर २० मा स्वेच्छाले उक्त डोज लिएको बताइएको छ ।

डिसेम्बर १६ मा दोस्रो डोज लिने तयारीमा भिज रहेका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी सिभिल अस्पताल अम्बाला कन्टमा भर्ना भएका छन् ।एजेन्सी