January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

चिनद्वारा नक्कली सैनिक छविको लागि अष्ट्रेलियासँग माफी माग्न अस्वीकार

  • 11
    Shares

काठमाडौं, अस्ट्रेलियाले चिनियाँ कूटनीतिज्ञले फर्जी र घृणायुक्त ट्वीट गरेकोबारे माफी माग गरेपनि चीनले त्यसो गर्न अस्वीकार गरेको छ ।

चीनले अस्ट्रेलियाले उसका सेनाले अफगानिस्तानमा गरेका युद्ध अपराधबाट सार्वजनिक ध्यान अन्यत्र मोड्न खोजेको आरोप लगाएको छ । 

अस्ट्रेलियाली सैनिकले अफगान बालकको हत्या गरिरहेको फर्जी तस्बिर शेयर गरेको भन्दै क्यानबेराले बेइजिङ्सँग माफी माग्न भनेको थियो ।

तर बेइजिङ्ले अस्ट्रेलियाले द्विपक्षीय सम्बन्ध बिग्रिएकोमा चीनमाथि दोष लगाउन खोजेको आरोप लगाएको छ । पछिल्ला दिनहरूमा दुई देशबीच सम्बन्ध खस्किएको छ । 

गत महिना अस्ट्रेलियाका सेनाबाट भएका भनिएका युद्ध अपराधका घटनाबारे प्रतिवेदन सार्वजनिक भएको थियो ।

अस्ट्रेलियन डिफेन्स फोर्सले सन् २००९ र २०१३ का बीचमा २५ जना अस्ट्रेलियाली सैनिक ३९ जना अफगान गैरसैनिक तथा बन्दीको हत्यामा संलग्न भएको विश्वसनीय विवरण प्राप्त भएको जनाएको थियो ।

सोमवार चीनले त्यसका लागि अस्ट्रेलियाको निन्दा गरेको थियो। तर लगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले शेअर गरेको फर्जी तस्बिरले भने क्यानबेरा तथा अन्यत्र तीखो प्रतिक्रिया उब्जाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले त्यस्तो घृणित तस्बिर शेअर गर्न बेइजिङ्ले लाज मान्नुपर्ने बताउँदै माफीको माग गरेका थिए । 

अस्ट्रेलियाको छिमेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिण्डा आर्डर्नले पनि सो ट्वीटको विषयलाई लिएर बेइजिङ्समक्ष चिन्ता जनाएको बताएकी छन् ।

तर प्रतिक्रियामा अस्ट्रेलियास्थित चिनियाँ दूतावासले मङ्गलवार मरिसनको टिप्पणीको निन्दा गरेको छ । ती आरोपको दुईवटा उद्देश्य छ । एउटा निश्चित अस्ट्रेलियाली सैनिकले गरेका डरलाग्दा ज्यादतीबाट मानिसहरूको ध्यान अन्यत्र मोड्नु र अर्को बिग्रँदो सम्बन्धको दोष चीनमाथि लगाउनु ।

घरेलु राष्ट्रवादको मलजल गर्ने अर्को प्रयत्न पनि हुनसक्छ, दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको बिबिसीले जनाएको छ । हाम्रो सुझाव छ अस्ट्रेलियाले आफ्नो सेनाले अफगानिस्तानमा गरेको अपराधलाई बोध गरेर दोषीलाई जबाफदेही बनाउँदै पीडितलाई न्याय दिलाओस् ।

यो वर्ष दुई देशबीचको सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएका छन् । क्यानबेराले कोभिड १९ महामारीको स्रोतबारे छानबिनको माग गरेपछि सम्बन्धमा तनाव सुरु भएको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको