नुवाकोट – कोरिया रिटर्नी तथा कोरियासँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूले संयुक्त पहलमा भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण गरेका छन्।
नेपाल कोरिया उद्यमी व्यवसायी संघ, अंकुर नेपाल, संगी नेपाल, द ब्रिज इन्टरनेशनल, द कोरियन एसोसियसन, एमपीएस मोनिटरलगायत संस्थाहरूको संयुक्त पहलमा संकलन गरिएको राहत सामग्री जिल्ला समन्वय समिति, विदुर, नुवाकोटको राहत व्यवस्थापन समितिमार्फत हस्तान्तरण गरिएको हो।
संकलित राहत सामग्रीमा दाल, चामल, चिउरा, तेललगायत खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, लाइफ ज्याकेट तथा अन्य अत्यावश्यक सामग्री रहेका छन्। सामग्री जिल्ला समन्वय समिति, विदुर, नुवाकोटको राहत व्यवस्थापन समितिमार्फत हस्तान्तरण गरिएको हो।
राहत हस्तान्तरण कार्यक्रममा नुवाकोट क्षेत्र नं. २ का सांसद अच्यूतम लामिछानेसहित जिल्ला समन्वय प्रमुख तथा स्थानीय राहत व्यवस्थापन समितिका सदस्य तथा नेपाल कोरिया उध्यमी व्यवसायी संघ,अङ्कुर नेपाल सङ्गी नेपाल लगाएत संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सांसद अच्यूतम लामिछानेले विपद्को समयमा कोरियासँग सम्बन्धित संस्थाहरू एकजुट भएर बाढीपीडितलाई सहयोग गर्नु सराहनीय कार्य भएको बताउनुभयो। उहाँले यस प्रकारको सहयोगले पीडित परिवारलाई राहतसँगै मनोबल बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल कोरिया उद्यमी व्यवसायी संघका अध्यक्ष प्रेम कुमार गुरुङले यो राहत कार्यक्रम पहिलो चरणको भएको जानकारी दिँदै आवश्यकताका आधारमा आगामी दिनमा थप राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
अंकुर नेपालका अध्यक्ष लाल प्रसाद भट्टराईले विभिन्न संस्था तथा कोरियासँग सम्बन्धित संघ–संस्थाहरूबीचको सहकार्यले विपद्को समयमा एकताको सकारात्मक सन्देश दिएको बताउनुभयो। उहाँले अंकुर नेपालका तर्फबाट यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० हजार सहयोग गरिएको जानकारी दिनुभयो।
संगी नेपालकी कार्यसमिति सदस्य माया गुरुङले संयुक्त रूपमा राहत हस्तान्तरण गर्न पाउँदा आफूहरू खुसी भएको बताउँदै यसबाट बाढीपीडित परिवारलाई केही भए पनि राहत र सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल कोरिया उद्यमी व्यवसायी संघका अध्यक्ष प्रेम कुमार गुरुङ, महासचिव जित्न्द्र बानिया,अंकुर नेपालका अध्यक्ष लाल प्रसाद भट्टराई, सचिव खेम कार्की, संगी नेपालकी कार्यसमिति सदस्य माया गुरुङ , ब्यवयासी बिमला लामा लगायत विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
राहत हस्तान्तरणपछि सहभागी प्रतिनिधिमण्डलले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनसमेत गरेको थियो।
कोरिया रिटर्नी तथा कोरियासँग सम्बन्धित संस्थाहरूको यो संयुक्त पहलले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितको दुःखमा साथ दिने सकारात्मक सन्देश दिएको छ।






