गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को हालै सम्पन्न बैठकबाट डा. प्रकाश धमलालाई उप–महासचिव पदमा मनोनयन गरिएको छ।लामो समयदेखि गैरआवासीय नेपाली समुदायको हकहित, संगठन सुदृढीकरण तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका डा. धमलाको अनुभव, नेतृत्व क्षमता र योगदानको कदर गर्दै उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।
उहाँको मनोनयनप्रति विश्वभर रहेका गैरआवासीय नेपाली तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले खुसी व्यक्त गरेका छन्। एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) दक्षिण कोरियाले पनि बधाई सन्देश जारी गर्दै डा. धमलालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
परिषद्ले जारी गरेको शुभकामना सन्देशमा डा. धमलाको नेतृत्वले गैरआवासीय नेपालीहरूको हकहितको संरक्षण, संगठनको प्रभावकारी सञ्चालन तथा विश्वभरका नेपाली समुदायबीच आपसी सहकार्य र एकतालाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। डा. धमलाको यो मनोनयनले विश्वभर रहेका गैरआवासीय नेपाली समुदायमा नयाँ उत्साह, ऊर्जा र प्रेरणा थप्ने अपेक्षा गरिएको छ।








