कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन्। काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रमुखले जानकारी दिए। शुक्रबार बिहान अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमा पोस्ट लेख्दै सागरमाथि एक वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्।
सोही आरोपबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए। बलात्कार आरोपपछि ‘बले’ लाई छायांकनरत फिल्म ‘पाँच पाण्डव’ बाट पनि निष्कासन गरिएको थियो। फिल्मको निर्माण ब्यानर कालारानी फिल्मस् प्रालिले शुक्रबार नै विज्ञप्ति जारी गरेर लम्साललाई निष्कासन गरिएको जानकारी दिएको थियो।
‘आरोपित लम्साल हाम्रो चलचित्र पाँच पाण्डवको एक चरित्रमा समेत आबद्ध भएकाले जघन्य अपराधमा स्वयं पीडित युवतीले नै आरोप लगाइसकेपछि फिल्म निर्माण ब्यानर कालारानी फिल्मसले आपतकालीन बैठक बसेर आरोपित सागर लम्साललाई नैतिकताका आधारमा फिल्मबाट निष्कासन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।






