नेपाली कम्युनिस्ट पार्टीका नेता सरल सहयात्रीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीभित्र गम्भीर आत्मसमीक्षा र वैचारिक पुनर्संरचनाको आवश्यकता रहेको बताएका छन्। सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई नयाँ ढङ्गले अगाडि बढाउनका लागि पार्टीले महाधिवेशनमार्फत देशव्यापी समीक्षा गर्नुपर्ने बताए।
उनले भने, ‘वडादेखि केन्द्रसम्मको सङ्गठनात्मक संरचना, प्रणाली र कार्यविधिमा सुधार आवश्यक छ। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण सही ढङ्गले भएको छ वा छैन भन्ने विषयमा समेत व्यापक बहस हुनुपर्छ। हाम्रो विचार, सङ्गठन र नेतृत्व विकासबारे महाधिवेशनमार्फत गम्भीर समीक्षा गर्नु आजको आवश्यकता हो।’
राष्ट्रिय, प्रदेश र जिल्ला तहमा बहस सिर्जना गर्दै सही दिशानिर्देश गर्न पार्टीले सक्रिय भूमिका खेल्न सक्ने बताए। वर्तमान राजनीतिक अवस्थाबारे कार्यकर्ताहरूलाई नआत्तिन आग्रह गर्दै उनले जनताको जनमतलाई सम्मान गर्नुपर्ने बताए।
उनले हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतलाई स्वीकार्दै त्यसको सकारात्मक मूल्याङ्कन गर्नुपर्ने धारणा राखे। सरकारको हालको गतिविधिप्रति सङ्केत गर्दै उनले केही निर्णयहरूले सकारात्मक सन्देश नदिएको टिप्पणी गरे।
लोकतन्त्रप्रति प्रतिबद्ध सबै नेता तथा कार्यकर्तालाई नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत हुन आह्वान गर्दै गणतन्त्र र परिवर्तनको आत्मसम्मान पार्टीभित्रै सुरक्षित रहेको दाबी गरे।







