प्रवासी मजदुरको मृत्युको स्मरण गर्दै भेदभाव अन्त्य गर्न माग साथै दक्षिण कोरियामा काम गर्ने प्रवासी मजदुरहरूको लगातार भइरहेको औद्योगिक दुर्घटनामा मृत्यु घटनाको स्मरण गर्दै सन 2026 को विश्व जातीय भेदभाव उन्मूलन दिवस को अवसरमा सौल मा एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले ” आवश्यक पर्दा प्रयोग गर्ने र पछि फोहोर जस्तो फाल्ने व्यवहार बन्द गर ” भन्दै प्रवासीमाथि हुने भेदभाव अन्त्य गर्न सरकारसँग माग गरेका छन ।
मार्च 15 मा सियोलको छोङ्नो स्थित बोसिंगाक क्षेत्रमा आयोजित कार्यक्रममा पछिल्ला दुई हप्तामा औद्योगिक दुर्घटनामा ज्यान गुमाएका प्रवासी मजदुरहरूको स्मरण गरिएको थियो। कार्यक्रममा भियतनाम र कम्बोडियाबाट आएका तीन जना मजदुरको तस्बिर राखेर करिब दुई घण्टा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कोरियामा हालै मात्र विभिन्न दुर्घटनामा पाँच जना प्रवासी मजदुरको मृत्यु भएको थियो । फेब्रुअरी 24 मा 37 वर्षका भियतनामी मजदुर दोङ भान थान को दक्षिण जेला प्रान्तको योंगामस्थित जहाज पार्ट्स निर्माण कारखानामा आर्गन ग्यासको सम्पर्कमा आएर मृत्यु भएको थियो । फेब्रुअरी 28 मा 35 वर्षका कम्बोडियन मजदुर थोम सोत्ती सोही क्षेत्रको जहाज निर्माण कम्पनीमा जहाज ब्लकले थिचिएर ज्यान गुमाएका थिए।
मार्च 10 मा 23 वर्षका भियतनामी मजदुर ङुएन भान तुआन को ग्योङ्गी प्रान्तको इचोनस्थित ढुंगा कारखानामा कन्वेयर बेल्टमा अड्किएर मृत्यु भएको थियो । मार्च 12 मा 24 वर्षकी थाई मजदुर तितावान को बुआनस्थित प्लान्ट कारखानामा मेसिनमा घाँटी अड्किएर मृत्यु भएको थियो । त्यस्तै मार्च 13 मा 30 वर्ष आसपासका म्यानमारका एक मजदुर ग्योङ्गी प्रान्तको खिम्पो स्थित कारखानाको छात्रावासमा मृत अवस्थामा भेटिएका थिए।
कार्यक्रममा विवाह गरेर कोरियामा बसोबास गरिरहेका महिला, शरणार्थी, विदेशी विद्यार्थी, विदेशी शिक्षक तथा विभिन्न मानवअधिकारकर्मी गरी 14 जनाले मन्तव्य राख्दै कोरियाली समाजमा अझै पनि घृणा र भेदभाव कायम रहेको बताएका थिए।
कोरियामा करिब 10 वर्षदेखि बस्दै आएकी विवाहित आप्रवासी महिला ना हानुल ले “कोरिया आर्थिक रूपमा धेरै विकसित भए पनि यदि समाजमा अझै भेदभाव र पूर्वाग्रह कायम छ भने के त्यसलाई न्यायपूर्ण समाज भन्न सकिन्छ?” भन्दै प्रश्न उठाइन्। उनले “आप्रवासी महिला कुनै वस्तु होइनन्, बच्चा जन्माउने साधन पनि होइनन् र आवश्यक पर्दा प्रयोग गर्ने श्रमिक मात्र पनि होइनन्, हामी पनि समान मानव हौं” भनिन्।
इजिप्टबाट आएका शरणार्थी माजुन ले डेलिभरी राइडरको रूपमा काम गर्दा आफूले भोगेको घृणापूर्ण व्यवहार सुनाए। उनका अनुसार गत महिना एक कोरियाली राइडरले “किन हाम्रो देशमा आएको? आफ्नो देश फर्क” भन्दै प्रहरी बोलाएर बसोबास अनुमति प्रमाणित गर्न बाध्य पारेका थिए।
उनले “यो एउटा घटना मात्र हो, ड्राइभिङ लाइसेन्स परीक्षा, बैंक खाता, प्रशासनिक प्रक्रिया जस्ता धेरै ठाउँमा संस्थागत रूपमा भेदभाव देखिन्छ” भन्दै “हामी सबै काम गर्ने मजदुर हौं, सीमा पार गरे पनि हामी सबै मानव हौं” भने ।
मानवअधिकारकर्मी काङ दायोङ ले कोरियामा जन्मिएका तर दर्ता नभएका करिब 5 हजार आप्रवासी बालबालिका अझै रहेको बताइन्। उनले वर्तमान कानुनले जन्मदर्ता र अनिवार्य शिक्षाको अधिकार केवल कोरियाली नागरिक लाई मात्र दिने व्यवस्था भएको भन्दै सबै बालबालिकालाई समान अधिकार दिन सरकारसँग माग गरिन्।
कार्यक्रममा गत वर्ष अक्टोबरमा आप्रवासी नियन्त्रण अभियानका क्रममा मृत्यु भएका भियतनामी विद्यार्थी तुआन को घटनालाई पनि पटक–पटक उल्लेख गरिएको थियो । सियोलस्थित एक विश्वविद्यालयमा अध्ययनरत चिनियाँ विद्यार्थी ली चिवोन ले विद्यार्थीहरूलाई ‘ग्लोबल प्रतिभा’ भन्दै स्वागत गरिन्छ तर पढाइ सकेपछि स्थिर रूपमा बस्ने बाटो लगभग छैन” भन्दै नीतिगत विरोधाभासका कारण धेरै विदेशी विद्यार्थी अस्थिर श्रम बजारमा धकेलिने गरेको बताए।
आसन आप्रवासी मजदुर केन्द्रका प्रमुख उ सामयोल ले “सरकारले अवैध बसोबास गर्ने आप्रवासीलाई उज्यालोमा ल्याएर कानुनी रूपमा काम गर्न दिने व्यवस्था गर्नुपर्छ” भने। उनले “मजदुरी गर्नु अपराध होइन, तर काम गरेको कारण मानिसलाई अपराधी जस्तै व्यवहार गरेर फोहोर जस्तै फालिएको छ” भन्दै आलोचना गरे।
उनका अनुसार स्पेन सरकारले गत जनवरीमा करिब 5 लाख अवैध आप्रवासीलाई वैध बसोबासको अधिकार दिएको उदाहरण प्रस्तुत गर्दै कोरियाले पनि आप्रवासीलाई समाजको सदस्यको रूपमा स्वीकार गर्नुपर्ने बताए।
कार्यक्रममा अंग्रेजी शिक्षक जेम्स ले पनि आफ्ना सहकर्मीहरूसँग अन्यायपूर्ण बर्खास्तगी र श्रमिक अधिकारका लागि संघर्ष गरिरहेको बताए। श्रमिक संघमा आबद्ध भएपछि केही शिक्षकहरूको रोजगार सम्झौता रद्द गरिएको उनले बताए।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाहरूले कोरियामा अझै पनि जातीय भेदभावलाई स्पष्ट रूपमा परिभाषित र प्रतिबन्ध गर्ने कानुन नभएको भन्दै संयुक्त राष्ट्रसंघले सिफारिस गरेको समग्र भेदभाव निषेध कानुन तुरुन्त पारित गर्न सरकारसँग माग गरेका छन्। कार्यक्रमपछि करिब 400 जना सहभागीहरूले सियोलको सरकारी भवन र पूर्व राष्ट्रपति कार्यालय क्षेत्रसम्म मार्च गर्दै प्रदर्शन समाप्त गरेका थिए।






