दिवङ्गत वरिष्ठ अभिनेता सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । थापालाई छोरा अनमोलले दागबत्ती दिनुभएकाे छ । अन्त्येष्टिअघि थापाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै चलचित्र कलाकार सङ्घको झण्डासमेत ओढाइएको थियो । थापाको पार्थिव शरीर अन्त्येष्टिका लागि लैजानुअघि श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो । त्यहाँ कलाकारिता क्षेत्रका सयौँ व्यक्तिहरू सहभागी थिए ।
थापाको हिजो बिहान ६८ वर्षको उमेरमा निधन भएको हो । नेपाली तथा भारतीय चलचित्र क्षेत्रमा सक्रिय थापाले एक सय ३८ भन्दा धेरै नेपाली चलचित्रमा अभिनय गर्नुभएको छ । नेपाली चलचित्रमा प्रायः खलनायकको भूमिकामा देखिने उहाँ ‘राते काइला’ नामबाट विशेष रूपमा परिचित हुनुहुन्छ । उहाँले भारतीय चलचित्रमा पनि काम गर्नुभएकाे छ ।





