दिपक रावलले पाए ‘क्यामेरा’ चुनाव चिन्ह,प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी
कैलाली–२ मा स्वतन्त्र प्रतिस्पर्धा तात्यो
कैलाली। राष्ट्रिय अटेरी अभियानका तर्फबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका पत्रकार दिपक रावलको चुनाव चिन्ह ‘क्यामेरा’ आधिकारिक रूपमा स्वीकृत भएको छ। निर्वाचन आयोगले कैलाली निर्वाचन क्षेत्र नम्बर–२ का लागि रावलको चुनाव चिन्ह क्यामेरा तोकेको हो।
लम्की चुहा नगरपालिका–२ का स्थायी बासिन्दा र लामो समयदेखि पत्रकारितामा सक्रिय रावलले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, नागरिक अधिकार र जनताको आवाज संसदसम्म पुर्याउने दृढ अठोटसहित उम्मेदवारी दिएका हुन्।
रावलले आफ्नो चुनाव चिन्ह ‘क्यामेरा’ लाई सत्य, तथ्य र निष्पक्षताको प्रतीक भन्दै भने,
“जसरी क्यामेराले सत्य लुकाउँदैन, म पनि संसदमा जनताको सत्य आवाज लुक्न दिने छैन।”
उनले राष्ट्रिय अटेरी अभियानमार्फत वैकल्पिक राजनीति, जनमुखी नीति र दलगत स्वार्थविरुद्धको संघर्ष अघि बढाउने दाबी गरेका छन्।
कैलाली क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारका रूपमा दिपक रावलको प्रवेशसँगै चुनावी माहोल थप रोचक र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।
अब मतदाताले हेर्नेछन्—क्यामेरामा कैद हुने कि पुरानै राजनीतिमा हराउने?





