इरानमा भइरहेको देशव्यापी प्रदर्शनमा बालबालिकासहित सयौँको सङ्ख्यामा नागरिकको ज्यान गएपछि संयुक्त राष्ट्रसङ्घले इरानी अधिकारीलाई दमन तत्काल अन्त्य गर्न आह्वान गरेको छ ।
इरानको अवस्थाबारे संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को बैठकमा बोल्दै संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले सुरक्षाकर्मीले प्रदर्शनकारीमाथी घातक बल प्रयोग गरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
प्रमुख टर्कले शवगृहमा राखिएका शवहरूमा ‘टाउको र छातीमा घातक चोटहरू’ भेटिएको रिपोर्टहरू पाएको पनि बताउनुभयो । तर इरानले आलोचनात्मक प्रतिक्रिया जनाएको यो बैठकमा ४७ सदस्यीय निकायले इरानमा हिंसात्मक दमनकोबारेमा चिन्ता व्यक्त गर्दै विभिन्न प्रस्तावमाथि छलफल गरिएको थियो ।







