दक्षिण कोरिया नेपाल – आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन आगामी २०२६ फेब्रुअरी ८ तारिख, आइतबार सउलको दोङदेमुनस्थित ‘नेपाली थाइ रेस्टुरेन्ट’ को सभाहलमा आयोजना हुने भएको छ।
फोनिज दक्षिण कोरियाको कार्यवाहक अध्यक्ष उत्तम खजुम को अध्यक्षतामा हालै सम्पन्न कार्यसमितिको बैठकले अधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको हो।
अधिवेशनको मिति सार्वजनिक भएसँगै कार्यवाहक अध्यक्ष खजुमले सोही दिन अन्य संघ–संस्थाहरूलाई आफ्ना कार्यक्रमहरू नजुधाइदिन आग्रह गर्दै भने,
“संस्थाको साङ्गठनिक सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि अधिवेशनको मिति घोषणा गरेका हौँ। यस ऐतिहासिक अधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली पत्रकार तथा समुदायको सहयोगको अपेक्षा गर्दछौँ।”
अधिवेशन सफल बनाउनका लागि कार्यसमिति तथा सल्लाहकारहरू तयारीमा जुटिसकेका छन्। अधिवेशनसँग सम्बन्धित अन्य विस्तृत कार्यक्रम तालिका, निर्वाचन प्रक्रिया तथा सहभागिता सम्बन्धी जानकारीहरू छिट्टै सार्वजनिक गरिने फोनिज दक्षिण कोरियाले जनाएको छ।





