तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित सेती नदीको बगरमा रहस्यमय ढङ्गले मृत फेला परेका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराको सक्रियतामा भएको सूक्ष्म अनुसन्धानपछि एक पुरुष र एक महिलाको सनाखत भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार गत पुस २६ गते बिहान १० बजे मृत फेला परेकामध्ये पुस २७ गते पहिलो मृतकको पहिचान खुलेको थियो । उनी शुक्लागण्डकी नगरपालिका–११ निवासी ४१ वर्षीय नारायण विक हुनुहुन्छ । उहाँको शव पोस्टमार्टम पश्चात् आफन्तले बुझिसकेका छन् ।
त्यसैगरी, सोमबार (पुस २८ गते) साँझ अर्की एक मृतक महिलाको पनि पहिचान खुलेको प्रनाउ विकले जानकारी दिनुभयो । “पुस २८ गते बेलुका ५ बजेतिर मृतक महिलाको पहिचान भएको हो, उहाँ भिमाद नगरपालिका–८, भागर बस्ने ५८ वर्षीया देउमाया थापा रहनुभएको खुलेको छ, “प्रनाउ विकले भन्नुभयो, “उहाँका छोराले शवको सनाखत गरेपछि पोस्टमार्टम गरी परिवारलाई शव हस्तान्तरण गरिएको छ ।”
नदी किनारमा एकैसाथ तीन जनाको शव भेटिएपछि स्थानीय त्रसित बनेका छन् । अझै एक जना पुरुषको पहिचान भने खुल्न सकेको छैन । “बाँकी एक जना पुरुषको सनाखतका लागि हामीले विभिन्न माध्यमबाट समन्वय र प्रयास गरिरहेका छौँ,’’ सूचना अधिकारी विकले थप्नुभयो । घटनाको प्रकृति हेर्दा यो निकै गम्भीर देखिएकाले प्रहरीले मृत्युका कारण पत्ता लगाउन र घटनाको चुरोमा पुग्न विस्तृत अनुसन्धानलाई तीव्रता दिएको छ ।






