एलिजा गौतमलाई आम जनता पार्टीले समानुपातिकमा उम्मेदवार बनाएको छ । उनी खस आर्य महिलाको क्लस्टरमा पहिलो नम्बरमा परेकी छन् । गौतम यसअघि जनादेश पार्टीमा थिइन् । उपाध्यक्ष बनाउने भने पनि नबनाएपछि एक महिनामै सो पार्टी छोडेर उनी आजपामा भित्रिएकी हुन् । आजपामा उनी उपाध्यक्ष छिन् । आजपाले यसअघि एलिजाले छोडेको जनादेश पार्टीसँग चुनावी सहकार्य गरेको छ ।
आजपाले आफ्नो समानुपातिक बन्दसुचीमा जेनजी शहिद परिवारबाट जेनजी शहिद श्रेयम चौलागाईका बुवा गणेश चौलागाई, जेनजी घाइते सञ्जिव सापकोटा, जेनजीहरुको तर्फबाट प्रतिमा थापामगर, मन्दिपकुमार लाल लगायतलाई समेटेको छ ।
सहकारी एवं लघुवित पीडितलाई समेत आजपाले समानुपातिक उम्मेदवार बनाएको छ । लघुवित पीडित संघर्ष समितिको तर्फबाट मनिराम ज्ञवाली, कृष्णबहादुर तामाङ, निमा शेर्पा, बिनु यादव, सहकारी पीडित संघर्ष समितिको तर्फबाट देवकुमार श्रेष्ठ, रिता भट्टराई, लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलान, दृष्टिविहीन अधिवक्ता रोशनी अधिकारी सहितका रहेका छन् ।







