हङकङ हुँदै यात्रा गर्दा नेपाली नागरिकले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने

हङकङ सरकारले नोभेम्बर १५ तारिखदेखि लागू हुने गरी नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा अनिवार्यको नियम हटाएको छ । त्यहाँको सरकारले नेपाली राहदानी बाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य देशमा जाँदा तथा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको हो ।

यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्र रहने सर्तमा ट्रान्जिट भिसा नचाहिने भएको हो । नेपाली महावाणिज्य दूतावास हङकङले निरन्तर कूटनीतिक पहलपछि यस्तो निर्णय भएको जनाएको छ ।

निरन्तर कूटनीतिक पहल एवम् अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले यस्तो निर्णय गरेको दूतावासले जनाएको छ ।

नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न भिसा दिनु पर्ने नियम लागू गरिएको थियो । ट्रान्जिट भिसा अनिवार्य गरिएका कारण नेपाली नागरिकले सास्ती भोग्दै आएका थिए ।