December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

प्रहरी कार्यमा दीर्घकालीन योजना निर्माण गरी लागू गर्नुस्: महानिरीक्षक शैलेश थापा क्षेत्री

  • 47
    Shares

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने, कोरोना संक्रमण नियन्त्रण व्यवस्थापन, फरार अपराधीहरुको खोजी, सिमा क्षेत्रमा राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनिकरण गर्ने लगायतका प्रहरी कार्यमा दीर्घकालीन योजना निर्माण गरी लागू गर्नुपर्ने बताउनुभएको छ ।

हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षकहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा निर्देशन दिदैं प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी अधिकृतहरु सरुवा भएको स्थानमा उच्च मनोबलका साथ उत्सुक भएर जानुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, ‘सरुवा भई जाने ठाउँमा अभिभावकको हैसियतले पूर्ण निष्ठावान भई आ-आफ्नो कर्तव्य निर्वाह गरेमा असल र नेतृत्वदायी भूमिका ठहर्छ ।’ हिरासतमा भएका व्यक्तिहरुमाथि प्रहरीले गर्ने व्यवहार एवं हिरासत कक्षको व्यवस्थापनलाई विशेष ख्याल गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराधजन्य गतिविधिमा शून्य सहनशीलता हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकाय, स्थानीय निकाय र कानुन कार्यान्वयन गर्ने अन्य निकायहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । सरुवा भई जाने अधिकृतहरुलाई कानुनी रुपमा कठोरता र व्यवहारमा विनम्रता प्रस्तुत गर्दै आन्तरिक गुनासोको व्यवस्थापन, निष्पक्षता, चेन अफ कमान्ड र कोरोना संक्रमण नियन्त्रणको लागि आ-आफ्नो दृष्टिकोण अनुसार पुलिसिङ गर्नुपर्ने उहाँले बताउनुभयो ।

कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी संक्रमणले धेरै प्रहरी कर्मचारी पनि संक्रमित भई अस्पताल र क्वारेन्टिनमा बस्नु परेको अवस्थामा सीमित प्रहरी जनशक्ति, साधन स्रोतको व्यवस्थापन र उचित परिचालन गरी खटी जाने स्थानहरुमा यस रोग रोकथाम र नियन्त्रण गर्न प्रहरी अधिकृतहरु सक्रिय रुपमा लाग्न उहाँले निर्देशन दिनुभयो । कोरोना संक्रमित प्रहरीको हौसलाका लागि अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


शीर्ष समाचार

धेरै पढिएको