
काठमाडौं, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भएको छ । हिजो बुधबार साँझबाट नै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले सञ्चारमाध्य्मलाई जानकारी दिएका छन ।
उनले भनेका छन्,”विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ ।”
जेनजीका आन्दोलनका कारण विषम परिस्थिति उत्पन्नपछि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थलले जनाए अनुसार हाल विमानस्थलको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिनेछ ।
यसैगरी, हाल काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ ।







