भक्तपुरमा स्कुटर चाेरी गर्ने तीन युवा पक्राउ

भक्तपुरको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोर्ने तीन जना चोरलाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय काठमाडौँमा चोरेरै जीविका चलाउने गरी सङ्गठित रूपमै चोरको बिगबिगी बढेसँगै प्रहरीले कडाइ गर्न सुरु गरेको हो ।
मोटरसाइकल, मोबाइल, साइकल लगायतका चाँडो मूल्य पाउने प्रकारका सामामाग्रीहरु चोर्नेको गिरोह नै रहेको प्रहरीले जनाएको छ । यस्ता गिरोहलाई नियन्त्रणमा नलिए समाजलाई दुख दिने भन्दै कडाइ गरेपछि सोमबार दुई वटा स्कुटर सहित तीन जनालाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा सुनसरीको धरान घर भई भक्तपुरको ठिमी बस्ने ३२ वर्षीय साजन तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १ घर भई भक्तपुरको बोडे बस्ने २६ वर्षीय दावा शेर्पा र भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ बस्ने २७ वर्षीय रोजन थापा रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२ ०३७ प २४०७ रहेको स्कुटर नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२ ०४० प ०५२४ नम्बर राखी काठमाडौँको कागेश्वरी नगरपालिका ७ मा चलाई रहेको अवस्थामा साजनलाई ट्राफिक प्रहरीले फेला पारेको थियो । सो स्कुटर सलिना कार्कीको रहेको खुल्न आएको छ ।
सोधपुछको क्रममा सो स्कुटर साजन र दावा मिलेर बिक्री गर्ने योजना बनाएको हुनाले दावालाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । दावालाई सोधपुछ गर्दा उक्त स्कुटर रोजनबाट लिएको बताएपछि रोजनलाई समेत भक्तपुरको मध्यपुर ठिमीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।रोजनलाई समेत सोधपुछ गर्दा सो स्कुटर भक्तपुरको नलिनचोकका २७ बर्षीय सुजन गुरुङले दिएको भन्ने खुल्न आएपश्चात् खोजी गर्ने क्रममा उनी बस्दै आएको ठाउँमा बा ६६ प ८७८५ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको थियो ।
सो स्कुटर काठमाडौँको सानोगौचरणबाट हराएको भनी विकास लामाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । फरार रहेका सुजनको भने खोजी भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक छानबिन तथा कारबाहीका लागि प्रहरी वृत्त मालिगाउँ पठाइएको छ ।
प्रतिकृया दिनुहोस्