May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार

एमाले र कांग्रेसबिच कुनै पनि समस्या छैन : गृहमन्त्री लेखक

शनिबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले एमाले र कांग्रेसबिच कुनै समस्या नभएको बताउनु भएको छ। उहाँले दुबै दल सहमतिकै आधारमा अघि बढेको बताउनुभएको हो।लोकतन्त्रलाई समाप्त पार्ने खेल भइरहेको दाबी गर्दै उहाँले निरंकुशताको युग हामीले देखिसकेको बताउनुभयो।

लोकतन्त्र समाप्त पार्नु भनेको पहिलो प्रहार मिडियामा हुने उहाँको भनाइ थियो। लोकतन्त्रको विकल्प नभएको बताउनुहँुदै लोकतन्त्रको नाममा कुनै निरंकुशता ल्याउन नेपाली जनता तयार नरहेको उल्लेख गर्नुभयो। संविधान संशोधनका लागि एमाले र कांग्रेसबिच संयुक्त कमिटी बनाउनेबारे सहमति बनेको उहाँले जानकारी दिनुभयो।

७० वर्षअघिको प्रहरी ऐन, २०१२ ले काम चलाइरहेको अवस्थामा प्रहरी समायोजनको काम भइरहेको उहाँले बताउनुभयो। ९ महिने सरकारमा रहिरहँदा आफूले नीतिगत र कानुनी सुधार गरेको उहाँले दाबी गर्नुभयो। गभर्नर नियुक्तिको विषयमा बताउँदै उहाँले राइट पर्सन, राइट प्लेसको नीति सरकारको रहेको भनाइ राख्नुभयो। १५ चैतको तीनकुने प्रदर्शनमा ज्यान गुमाएका दुई जना मृतकका परिवारलाई सरकारले राहत स्वरूप दश दश लाख दिएको र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने बताउनुहँुदै घाइतेको निशुल्क उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो। कार्यक्रममा युनियन कास्कीका अध्यक्ष बासु मिश्र र सचिव सुमन गुरुङले पोखराको मिडियाका बारेमा भनाइ राख्नुभएको थियो।