December 7, 2024, Saturday
२०८१ मंसिर २३, आईतवार

काठमाडौं–तराई–मधेश फास्ट ट्रयाकको प्रगति सोचेभन्दा राम्रो छ- संसदीय समिति

प्रतिनिधिसभा,राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई–मधेश द्रुतमार्गमा आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदै समयमै पूरा हुने बताएको छ । समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले आज गरेको अनुगमनबाट सोचेभन्दा राम्रो प्रगति हासिल भएको निष्कर्ष निकालेको हो ।

समिति सभापति रामहरि खतिवडाले फास्ट ट्रयाकको काम द्रुत गतिमा भइरहेको प्रतिक्रिया दिए ।’नेपाली सेना अहोरात्र खटेर आयोजना सम्पन्न गर्ने दिशामा अघि बढिहरको छ । केही व्यवधान छन् भने त्यसलाई छलफलका माध्यमबाट समाधान गर्न सकिन्छ । सन्तोषजनक रुपमा काम भएको छ । सेनालाई धन्यवाद दिन चाहन्छौं,’ उनले भने ।

विकास निर्माणका लागि सबैले द्रुतगतिमा काम गर्ने हो भने मुलुक समृद्ध हुन धेरै समय नलाग्ने बताउँदै सभापति खतिवडाले भने, ‘यहाँको प्राविधिक टोलीको काम हेर्दा सुरुङ निर्माण गर्न नेपाली सेनासक्षम हुने देखिएछ । गौरवका आयोजना समयमै सम्पन्न गर्न पाइएमा मुलुकले ठूलो लाभ लिन सक्छ ।’

उनले राष्ट्रिय गौरवको सर्वाधिक महत्त्वको सो आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकारले आवश्यक साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।​ द्रुतमार्ग २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनालाई विभिन्न १३ वटा प्योकजमा छुट्याएर निर्माण काम भइरहेको छ ।

प्रस्थान विन्दु ललितपुरको खोकना र अन्तिम विन्दु बाराको निजगढ रहेको सो सडकको कूल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ ।​ द्रुतमार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर फराकिलो हुनेछ । आयोजनाअन्तर्गत ललितपुरमा नौ, काठमाडौंमा चार दशमलव छ, मकवानपुर ४९ दशमलव ७७ र बारामा सात दशमलव सात दशमलव छ किमी सडक रहनेछ ।

द्रुतमार्गमा १० दशमलव ३०९ किमी लम्बाइको छ वटा सुरुङ रहनेछ । सो सडकमा विभिन्न स्थानमा कूल १२ दशमलव ८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ ।​बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक वटा इनटरचेञ्ज र ट्राल प्लाजा निर्माण गरिनेछ ।

शीर्ष समाचार

धेरै पढिएको