December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीको संयोजन आरजु राणाले गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तयारीको संयोजन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गर्ने भएकी छन् । हिजो (मंगलबार) बसेको कांग्रेस–एमालेको संयुक्त बैठकले प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा चीनको औपचारिक भ्रमणको तयारीको संयोजनको जिम्मा परराष्ट्रमन्त्री देउवालाई दिने निर्णय गरेको हो ।

चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा प्रधानमन्त्री ओलीको मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा जाने बताइएको छ ।

त्यस्तै, हिजो बसेको उक्त बैठकले वर्तमान सयुंक्त सरकारलाई सफल र प्रभावकारी बनाउन ८ सदस्यीय संयन्त्रसमेत बनाइएको छ । संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल संयन्त्रमा रहेका छन् । एमाले–कांग्रेसले सरकारलाई सफल बनाउन केन्द्रमा मात्रै नभएर प्रदेश र जिल्ला तहमा समेत संयन्त्र बनाउने बताइएको छ ।

कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालैपालो गर्ने बताइएको छ । पहिलो महिना (कार्तिक २१ देखि मंसिर २० सम्म) कांग्रेसका उपसभापति खड्काले कार्यदलको बैठकको संयोजन गर्ने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको