May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

वर्षाका कारण विद्युत् आपूर्ति प्रणालीमा समस्या, अधिकांश स्थानमा विद्युत कटौती

काठमाडौं, अविरल वर्षाका कारण विद्युत् आपूर्ति प्रणालीमा समस्या हुँदा मुलुकका अधिकांश स्थानमा विद्युत् काटिएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्‍याएको हुँदा आपूर्ति प्रभावित भएको हो ।

काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिएका छन् । उपत्यकामा विद्युत् माग सामान्य अवस्थामा करिब चार सय मेगावाट हुने गरेकामा आज दुई सय मेगावाटको हाराहारीमा रहेको छ ।

हाल बानेश्वर ‘सबस्टेसन’बाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका ‘फिडर’समेत प्रभावित भएको छ भने भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् ।

त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द भएको छ ।

यसैगरी, लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रिधारा, टेकु सबस्टेसनबाट आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालीमाटी, चक्रपथ र चमती, नयाँ चाबहिल सबस्टेसनबाट आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका कलङ्की, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको