
बागलुङ, शुक्रबार राति मध्यपहाडी लोकमार्गस्थित बागलुङको गलकोटमा भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षण गरिने र आजै शव परिवारको जिम्मा लगाइने भएको छ । आज साँझसम्म शव जिम्मा लागाइने भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ । आज बिहानदेखि मृतकको शव परीक्षण सुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाइने छ ।
यसैगरी, हिजो शुक्रबार बिहान गलकोट नगरपालिका–२ को भुङ्खानीमा काठमाडौँदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको पिकअप जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो ।
घटनामा गम्भीर घाइते २९ वर्षीय चालक प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
सो दुर्घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीय गोपीमाया बुढा र वडा नं ३ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको थियो ।







