त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरुले फलाएर १२ क्विन्टल आलु- पढ्दै कमाउँदै

गोरखाको पालुङटार नगरपालिका-९ मा रहेको त्रिवेणी माध्यमिक विद्यालय मिरकोटका विद्यार्थीहरुले १२ क्विन्टल आलु फलाएर राम्रो आम्दानी गरेका छन् । विद्यालयले नजिकै रहेको जग्गा भाडामा लिएर उत्पादन गरेको आलु बिक्रि वितरण भईरहेको त्रिवेणी माबिका प्रधानध्यापक गणेश सेढाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार कक्षा ६ देखि १२ कक्षासम्मका १९० जना विद्यार्थीहरुको सहभागितामा आलु खेती भएको थियो । उत्पादित १२ क्विन्टल आलुमध्ये आईतबारसम्म ९ क्विन्टल आलु बिक्रि वितरण भईसकेको प्रधानध्यापक सेढाईको भनाइ छ । आलु खेतीका लागि पालुङटार नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा बिउँँ उपलब्ध गराएको थियो ।

विद्यार्थीहरुले लगाएको आलु ४० केजीभन्दा मुनी लैजाने ग्राहकलाई ३५ रुपियाँ र ४० केजीभन्दा बढी लाने ग्राहकलाई ३० रुपियाँको दरले बिक्रि वितरण गरिएको सहायक प्रधानध्यापक गणेश बहादुर गुरुङले जानकारी दिनुभयो । त्रिबेणी माध्यमिक विद्यालयमा कृषि धार अन्तर्गत बाली विज्ञान पढाई हुने गरेको छ ।

कृषि धार पढाउने विद्यालयले प्रयोगत्माक कक्षा स्वरुप विद्यार्थीहरुलाई खेतीमा सहभागीता गराएको हो । विद्यालयले पाँच वर्षका लागि १० रोपनी खेत र ८ रोपनी पाखो बारी भाडामा लिएको छ । अहिले त्यसको खेतको वर्षमा २ लाख र पाखो बारीको वर्षमा १ लाख घरधनीलाई बुझाउने गरी विद्यालय र जग्गा धनी बीच सम्झौता भएको छ । सोहि जग्गामा विद्यार्थीहरुले वर्षमा तीन पटक धान, आलु, टमटर, काक्रो, काउली, बन्दा, मोटरकोषा, लगाएतको खेती गर्ने गरिएको छ ।

अब आलु खेतीपछि विद्यार्थीहरुले बेसौमी तरकारी टमटर, काक्रो, घिरौला खुर्सानी चिचीन्ने लगायतका तरकारी खेती लगाउने तयारी गरिरहेको प्राध्यानध्यापक सेढाईले बताउनुभयो । यस त्रिबेणी माध्यमिक विद्यायले विद्यार्थीहरुको मिहिनेत अनुसार खेतीमा सहभागी बिद्यार्थीहरुलाई प्रयोगत्माक नम्बर दिने गरिएको छ ।

विद्यालयले खेती लगाउँदा लाग्ने खर्च व्यवस्थापन गरेको तथा विद्यार्थीहरुले खेती गर्दा खाजा खाएको रकम भने खेतीबाट आएको आम्दानीबाट खर्च गरी बाँकी रहेको रकम विद्यार्थीहरुलाई उपलब्ध गराउने गरिएको छ । गाेरखापत्रबाट