May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्न आदेश

रौतहट जिल्ला अदालतले मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा आज पेशी चढेको उक्त मुद्दामा साक्षी बुझ्ने आदेश भएको हो । जिल्ला अदालतका न्यायधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले गैरीशंकर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग बुझ्ने आदेश गरेको हो ।२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको थियो ।

विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा जलाइएको आरोप लगाउँदै उनीहरुको परिवारका सदस्यहरु श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

सोही मुद्दामा सर्वोच्च अदालतबाट २०६९ जेठ १६ गते मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने आदेश दिएको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयन गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरलाई २०७५ चैत ८ गते ताकेता गर्दै मुद्दा चलाउनका लागि पत्राचारसमेत गरेको थियो । सर्वोच्च अदालतको आदेशअनुसार आलमलाई पक्राउ गरेर अनुसन्धान कार्य सुरु भएको थियो । उनी २०७६ कात्तिक २९ देखि पुर्पक्षका लागि थुनामा छन् ।

शीर्ष समाचार

धेरै पढिएको