March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार

दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसका लिड भोकलिष्ट जङ कुकसहित अन्य तीन सदस्य सेनामा भर्ती

दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसका लिड भोकलिष्ट जङ कुकसहित ब्यान्डका अन्य तीन सदस्यहरुको नाम मंगलबार सैन्य सेवाका लागि सूचीकृत भएको छ । दक्षिण कोरियामा हरेक युवाले १८ वर्ष देखि २८ वर्षको बिचमा २ वर्ष जति घरेलु सेनामा भर्ना भएर देशको सेवा गर्नु पर्छ ।

चार हप्ता अगाडि अवस्था अर्कै थियो कुक न्यूयोर्कमा करियरकै पहिले सोलो कन्सर्टमा व्यस्त थिए । जिम्मी फ्यालनको टूनाइट शोमा पनि गए । केही हप्ता अघि उनले जष्टिन टिम्बरलेक र असरसँगको सहकार्यमा आफ्नो गीत पनि निकाले । उनको डेब्यु एल्बम गोल्डन कयौँ म्युजिक चार्टमा हिट बन्यो । उनको गीत टिकटकको ट्रेन्डिङमा पनि आयो । स्टारडमको शिखरमा पुग्दै गर्दा झ्याप्प ब्रेक लाग्यो । उनी फेरि सोल नै फर्किनु पर्‍यो । सेनामा भर्ना हुन ब्यान्डका अन्य तीन जना सदस्यहरूलाई पछ्याउँदै कुक र बीटीएसका अन्य तीन जना सदस्य सेनामा भर्ना हुँदैछन् । १८ महीनासम्म यिनीहरु सेनामा रहनेछन् ।

बीटीएस दक्षिण कोरियाले विश्व सङ्गीतलाई दिएको सबैभन्दा ठूलो उपहार हो । बीटीएसको लोकप्रियताकै कारण कोरियाली संसदले सेनामा अनिवार्य सेवाको अवधिलाई पछाडि धकेलेर बीटीएसका लागि ३० वर्षको उमेरसम्म पुर्याएको थियो । बीटीएसका एक जना सदस्यबाहेक सबैको उमेर २८ वर्षभन्दा कम छ ।

ब्यान्डका समर्थक केही मन्त्रीहरूले बीटीएसले अर्बौ डलर देशको लागि कमाइदिएर देशको सेवा गरिसकेको तर्क पनि दिएका थिए । तर सेनामा अनिवार्य भर्तीलाई टार्नै नसक्ने स्थिति आएपछि ब्यान्डले गएको वर्ष नै सदस्यहरूलाई आफ्नो एक्लो प्रोजेक्टलाई अगाडि बढाउने अनुमति पनि दिएको थियो ।

आफ्नो मन पर्ने के–पप ब्यान्डलाई केही समय सुन्न नपाउने भएपछि सामाजिक सञ्जालहरुमा बीटीएसका फ्यानहरुले दुःख मनाउ गरिरहेका छन् । यूएस आईट्युन्सको चार्टमा ६ वर्ष अधिको बीटीएसको कम चर्चित गीत स्प्रिङ्ग डे अचानक शीर्ष १ मा आएको थियो ।

बीटीएस सन् २०२५ मा मात्रै पुनः दर्शक र श्रोतामाझ फर्किने आशा गरिएको छ । बीटीएसको अनुपस्थितिले अन्य के–पप ब्यान्डहरुले मौलाउने अवसर पाउनेछन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको