March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सीसी क्यामरा जडान

काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सीसी क्यामरा जडान शुरू गरिएको छ । ठमेल पर्यटन विकास परिषद्‌को पहल तथा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सीसी क्यामरा जडान गरिएको हो ।​

परिषद्‌का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्तिसुरक्षा बलियो बनाइ यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामरा जडान शुरू गरिएको जानकारी दिए ।

अध्यक्ष शर्माले ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ८० सीसी क्यामरा जडान गरिएको बताए । ‘चार ठूला क्यामरासहित एक सय १२ सीसी क्यामरा जडान गर्नेगरी काम भइरहेको छ, हाल ८० क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ’, अध्यक्ष शर्माले भने ।

ठमेल क्षेत्रभित्र सीसी क्यामरा जडान गर्न यसअघि काठमाडौं महानगर प्रहरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्‌को प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सीसी क्यामराको अध्ययन गरेको थियो ।​

परिषद्‌का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि सीसी क्यामराले सहयोग पुग्ने बताए ।विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्‌मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको