March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

चीनको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

बेइजिङ, चीनको आद्योगिक उत्पादन गत अगष्ट महिनामा वृद्धि भएको छ । निर्यात बजारको मागमा सामान्य गिरावट आएपनि देशभित्रको माग बढेपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सर्भेक्षणले देखाएको छ ।

चिनियाँ तथ्याँक विभागले सोमबार सार्वजनिक गरेको मासिक खरिद सूचक (पिएमआई) मा जुलाईको भन्दा औद्योगिक सूचकमा सामान्य गिरावट आए पनि समग्रमा सुधारोन्मुख देखिएको जनाएको छ । औद्योगिक सूचक गणना गर्ने पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) मा जुलाईमा ५१.१ विन्दु रहेकामा अगष्टमा ५१ मा झरेको देखिएको छ ।

कूल १०० अंकको पिएमआई विन्दु ५० भन्दा बढी भएमा औद्योगिक गतिविधि सकारात्मक रहेको मानिन्छ । निर्यात माग सामान्य गिरावट आए पनि त्यसको घट्ने दर निकै कम रहेको छ । यसको मापनमा ४८.४ बाट ४९.१ विन्दुले सकारात्मक भएको छ । गत वर्षको डिसेम्बरबाट चीनमा कोरोना महामारी फैलिएपछि चीनमा पहिलोपटक लकडाउन गरिएको थियो ।

गत मार्चमा कोरोना महामारीलाई आफूहरुले परास्त गरेको घोषणा गरेपछि चीनले औद्योगिक उत्पादनका साथै बजार खुला गर्न थालेको थियो । चीनको उपभोग्य मागमा पनि सुधार आएको छ तर बेइजिङले चाहेझैं प्रगति हुन सकेको छैन । संयुक्तराज्य अमेरिका र अरु महत्वपूर्ण बजारमा कोरोनाभाइरस संक्रमितको संख्या निरन्तर बढेपछि चीनको निर्यात बजारमा अपेक्षित सुधार आउन सकेको छैन । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको