अश्लील तस्बिर सामाजिक सञ्जालमा प्रयोग गरी युवतीलाई ब्ल्याकमेल गर्ने श्रवणकुमार विरुद्ध उजुरी
सामाजिक सञ्जालमा युवतीको अश्लील फोटो बनाएर ब्ल्याकमेल गर्ने सिरहा, मिर्चैयाका एक युवकविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।
सिरहाको मिर्चैया नगरपालिका–४ का श्रवणकुमार साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा धनुषाकी एक युवतीले उजुरी दर्ता गराएकी हुन् ।आफ्नो अश्लील फोटो बनाएर ब्ल्याकमेल गरिरहेको भन्दै काठमाडौँ, गौशालास्थित अन्नपूर्ण नेपाल टुर्स एण्ड ट्राभल्सका सञ्चालकसमेत रहेका साहविरुद्ध ती युवतीले उजुरी दिएकी हुन् ।
ती युवतीको अश्लील तस्बिर ती युवकले सामाजिक सञ्जालमार्फत युवतीका आफन्तहरुलाई पठाउने गरेको बताइएको छ ।‘ऊसँग मेरो फेसबुकमार्फत चिनजान भयो ।
अविवाहित छु भनेर प्रेमजालमा पार्यो,’ ती युवतीले भनिन्, ‘तर ऊ विवाहित रहेको थाहा पाएपछि दुरी बनाउँदा उसले मेरो अश्लील फोटोहरु बनाएर सामाजिक सञ्जाल लगायतका माध्यमबाट मेरो आफन्तहरुलाई पठाइरहेको छ ।’
यसअघि पनि युवतीले साहविरुद्ध काठमाडौँस्थित गौशाला प्रहरी वृत्तमा ब्ल्याकमेल र साइबर अपराध सम्बन्धी मुद्दा दिएकी थिइन् । प्रहरीले साहलाई पक्राउ गरेर अब उप्रान्त यस्तो कार्य नगर्ने भनी सहमति गराएको थियो ।युवतीले धनुषा प्रहरीमा गत असोज २९ गते उजुरी दर्ता गराए पनि प्रहरीले कारबाहीमा चासो नदेखाएको युवतीको आरोप छ ।
यता धनुषा प्रहरीले आवश्यक कारबाहीका लागि गौशाला प्रहरी वृत्तमा पत्राचार गरिसकेको जनाएको छ । आरोपित साहलाई छलफलका लागि उपस्थित गराइदिन भनी पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाको भनाइ छ ।
प्रतिकृया दिनुहोस्