सञ्जयलाई जेलभित्रको जेल – ‘गोलघर’मा राखियो जहाँ चार्ल्स शोभराज समेत राखिएको थियो
गैरीगाउँ सामूहिक हत्या प्रकरणमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भएका २३ वर्षीय अभियुक्त सञ्जय भण्डारीलाई जेलभित्रको जेल अर्थात गोलघरमा राखिएको छ । अन्यकैदीबन्दीको सुरक्षाका लागि भन्दै भण्डारीलाई जेलभित्रको जेल अर्थात् गोलघरमा राखिएको हो ।शुक्रबार काठमाडौँ जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न भन्दै केन्द्रीय कारागार सुन्धारामा पठाएको थियो । केन्द्रीय कारागार सुन्धाराले भण्डारीलाई जेलभित्रको पनि जेल अर्थात गोलघरमा राख्न पठाएको हो ।
कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख ललित बस्नेतका अनुसार सुरक्षा संवेदनशीलताका कारण गोलघरमा राखिएको हो । अन्य कैदीबन्दीको सुरक्षालाई मध्यनजर गर्दै भण्डारीलाई गोलघरमा पठाइएको हो ।गोलघरमा निकृष्ट प्रकृतिको अपराध गर्ने व्यक्ति र भाग्न सक्ने वा भाग्न खोज्ने व्यक्तिहरुलाई राखिन्छ । यसअघि गोलघरमा सिरियल किलर चार्ल्स शोभराज, गुण्डानाइके रमेश बाहुन, रिगल भन्ने योगराज ढकालहरुलाई समेत राखिएको थियो ।
गोलघरभित्रका कैदीबन्दीले अन्य कैदीबन्दीले जति सुविधा पनि पाउँदैनन् । उनीहरुले अन्य कैदीबन्दीले जति भेटघाट समेत गर्न पाउँदैनन् भने फोन सम्पर्क गर्दा पनि प्रहरीको निगरानीमा उनीहरुकै अगाडि मात्रै फोन गर्न पाउँछन् ।
तीनकुने हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारीलाई गोलघरमा पनि ढोका थुनेर राख्ने तयारी गरिएको छ । उनलाई विशेष निगरानीमा राख्नुपर्ने सुझाव आएको भन्दै शनिवारबाट ढोका नै थुनेर राख्ने र शौचालय जाने समयमा मात्रै ढोका खोल्ने विषयमा कुराकानी भइरहेको छ । शौचालय जाँदा वा परिवारका सदस्यसँग भेटघाट गर्दा पनि दुई जना सुरक्षाकर्मी साथमै रहनुपर्ने गोलघरको नियम छ ।
कारागार ऐन, २०७९ को दफा १८ मा ‘विशेष सुरक्षा कक्षको व्यवस्था गरिने’ प्रावधान छ । सुन्धारास्थित कारागार कार्यालयमा गोलघर भन्ने विशेष सुरक्षा कक्षा छ भने अन्य कारागारमा अन्य नामबाट त्यस्तो कक्षा स्थापना गर्ने व्यवस्था छ ।
गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँ स्थित दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो । घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो । भण्डारीले चार जनाको हत्या गरेपछि करिब २ घण्टा त्यहीँ आराम गरेर बसेको बयान दिएका छन् । प्रहरीसँगको बयानमा हत्या गरिएको स्थानमै बसेर चुरोट खाएर आराम गरेको र असहज महसुस नभएको समेत उनले बयानमा भनेका छन् ।
प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भण्डारीविरुद्ध बिहीबार साँझ मुद्दा दर्ता गराएको थियाे । घटनाका सम्बन्धमा आरोपित सञ्जय भण्डारीले कसुर कबुल गरेको, घटनास्थलमा भण्डारीको उपस्थिति देखिएको, मोबाइलको लोकेशन तथा सिसीटिभी फुटेजबाट पनि भण्डारीको उपस्थिति पुष्टि भएको भन्दै निजलाई जीवनभर कैदमा राख्न माग दाबी लिई बिहीबार मुद्दा दर्ता भएको थियाे ।
प्रतिकृया दिनुहोस्