चापाकोटका सिनियर अहेव विरुद्ध ९० लाखको भ्रष्टाचार मुद्दा दायर

स्याङ्जाको चापाकोट नगरपालिकाको कार्यालय, चापाकोटका सिनियर अहेव बिन्दु कोइरालाविरुद्ध ९० लाख ३९ हजार ६२० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक सेवामा रहेको मिति २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर २१ गतेसम्मको अवधिमा कोइरालाको आयभन्दा व्यय धेरै देखिएको छ ।

सो अवधिमा निजको आयतर्फ दुई करोड ९७ लाख ८१ हजार ८०२ रुपियाँ रहेकोमा सोही अवधिमा विभिन्न शीर्षकमा तीन करोड ८८ लाख २१ हजार ४२२ रुपियाँ व्यय रहेको हुँदा ९० लाख ३९ हजार ६२० रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पुष्टि भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर पदीय दुरुपयोगको आरोपमा भ्रष्टाचार निवारण ऐन बमोजिम स्रोत नखुलेको र स्रोत खुलेको सम्पत्ति मध्येबाट बिगो र जरिवाना जफतको मागदाबी लिइ शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।