संविधान दिवसको अवसरमा जनकपुरधाममा सरसफाइ कार्यक्रम सम्पन्न
धनुषा,असोज ३ गते-मधेश प्रदेशको राजधानी जनकपुरधाममा संविधान दिवसको अवसरमा सरसफाइ तथा झण्डोत्सव कार्यक्रम सम्पन्न भएको छ।
नेकपा (एमाले) जनकपुरधाम नगर कमिटीले बुधबार जानकी मन्दिर प्राङ्गणमा आयोजना गरेको उक्त कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा संविधान जारी भएकै कारण आम नागरिकले आफ्नो अधिकार प्राप्ति गर्दै सम्मानपूर्वक बाँच्न पाएको बताउनुभयो।उहाँले नेपालको संविधान जनप्रतिनिधिहरूले बनाएको संविधान भएकोले विश्वको सबै भन्दा उत्कृष्ट संविधान भएको भन्नुहुँदै सफल कार्यान्वयनमा जोड दिनुभयो।
उहाँले संविधानमा संशोधनको व्यवस्था कायम रहेकोले संशोधन गर्नुपर्ने विषयवस्तुको पहिचान गरी दलीय सहमतिको आधारमा जतिवेला पनि संशोधन गर्न मिल्ने बताउनुभयो। उहाँले आवश्यकताको पहिचान गरी सुरु देखि नै एमाले संविधान संशोधनको पक्षमा रहेको बताउनुभयो।
उहाँले प्रदेश र स्थानीय तहका कतिपय विषय वस्तुको सवालमा संशोधन आवश्यक भएको बताउनु भयो। नेकपा एमाले जनकपुरधाम नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले मधेश इन्चार्ज योगेश भट्टराई, धनुषाका इन्चार्ज लिलानाथ श्रेष्ठ ,महोत्तरी इन्चार्ज जुली कुमारी महतोसहितका नेताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जानकी मन्दिरको प्राङ्गण वरपरका क्षेत्रलाई सफाइ गर्नुको साथै नेपालको राष्ट्रिय झण्डत्तोल्नको साथै फुलवारीमा वृक्षारोपण गरिएको छ।
यसैगरी, धनुषाको सहिदनगर नगरपालिकाको वडा नम्बर ६ हरबडामा नेकपा एमाले धनुषा क्षेत्र नम्बर २ कमिटीले नेकपा एमालेका सहिद रामनारायण मण्डल (मुरबल) को २७ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा एमाले नेता पोखरेलले देशमा सरकार छ भने कुरा जनताले अभाष गर्न नसकेको बताउनुभयो।
उहाँले मिसन २०८४ मा एमालेले ५१ प्रतिशत मत प्राप्त गरी आफ्नो नेतृत्वमा सरकार गठन गर्ने योजनाका साथ अगाडी बढेको भन्दै मिसन पुरा गर्नका लागि एमालेका विचारलाई जनस्तरमा पुर्याउन आफ्ना नेता कार्यकालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा एमाले मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराई ,नेकपा एमालेका केन्द्रीय सदस्य सञ्जीव झा, नेकपा एमाले मधेश प्रदेशका मुख्य सचेतक लखन दास सहितका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्