सार्वजनिक बिदाबाहेक विद्यालय बन्द गरे फक्ताङ्लुङ गाउँपालिकाले कारबाही गर्ने

ताप्लेजुङ, असोज ३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले कुनैपनि बहानामा विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।र्वजनिक बिदाबाहेक आन्दोलन वा अन्य कारणबाट पठनपाठन नै अवरुद्ध हुनेगरी विद्यालय बन्द गरे सम्बन्धित शिक्षकलाई गाउँपालिकाले कारबाही गर्ने भएको हो ।

गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) द्वारा जारी विज्ञप्तिमा गाउँपालिकाको शिक्षा ऐन २०७६, नियमावली २०७९ र प्रचलित कानुनबमोजिम विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने उल्लेख गरिएको छ । प्रस्तावित सङ्घीय शिक्षा विधेयकको सन्दर्भलाई लिएर विद्यालय बन्द गर्ने सम्मको कार्यक्रम रहेको बुझिएकाले यसप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन् भएको छ, छैन भन्ने विषय महत्त्वपूर्ण हुन आउने भन्दै बालबालिकाको पढ्न पाउने अधिकारलाई ध्यान दिन विज्ञप्तिमार्फत गाउँपालिकाले आग्रह गरेको छ । शैक्षिक सुधारको योजनाअन्तर्गत विभिन्न क्रियाकलाप गर्दै आइरहेको गाउँपालिकाले पठनपाठनमा प्रत्यक्ष असर पुग्ने विद्यालय बन्द, हडतालजस्ता कार्य कदापि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पालिकाभित्र अध्ययनरत आफ्ना बालबालिकाको सुन्दर भविष्यप्रति गम्भीर बन्न र विद्यालयहरू निर्बाध तथा सहज रूपमा सञ्चालन गर्न गराउनमा गाउँपालिकाअन्तर्गत सञ्चालित विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीमा विज्ञप्तिमार्फत गाउँपालिकाले निर्देशनात्मक अनुरोध गरेको छ ।