तीन करोड मागेको प्रमाण भेटिए मोहनजंगलाई कारबाही हुन्छ : रास्वपा सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले पार्टीले सांसद र मन्त्री बनाउन कसैसँग पैसा नलिएको दाबी गरेका छन् ।
‘चलचित्र र विज्ञापन बनाउँदा बनाउँदै पहिले देश बनाऊँ भनेर म राजनीतिमा लागें । पार्टीले न सांसद न त मन्त्री बन्न नै पैसा माग्या छ । यस्तो नीति नै छैन ।

मन्त्री बनाउन पार्टीले पैसा मागेको कुरा सही हुनै सक्दैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठलाई कसैले बेबकुफ बनाएको शाहले बताए । उनले भने, ‘उहाँसँग कसले र कसरी पैसा माग्यो ? त्यो उहाँलाई नै थाहा होला । उहाँलाई कसैले बेबकुफ बनायो होला ।

उहाँ कहिले कोर टिम भन्नुहुन्छ, कहिले मोहनजंग थापा भन्नुहुन्छ । कहिले मेरो अडियो होइन भन्नुभयो, कहिले हो भन्नुभयो । आफ्नै बयान फेरिरहनुभएको छ । अनुशासन समितिमा संरक्षण गर्नुपर् यो भन्नुभएको थियो । तर हामीले गरेनौं ।

बदनियतपूर्ण तरिकाले पैसा मागेको सबुत प्रमाण देखिए थापालाई पनि कारबाही हुन्छ भनेर पार्टीले विज्ञप्ति निकालिसकेको छ । भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको अभियान चलिरहेका बेला कसैलाई संरक्षण गर्ने कुरै भएन ।’सरकारले भ्रष्टाचारका फाइल खोले पनि परिणाम नआएको उनको टिप्पणी छ । उनले भने, ‘सरकारको रिजल्ट त्यति राम्रो आएन ।

आफ्ना नेता बचाउँदै जाने, अरुलाई पोल्दै जाने तरिकाले परिणाम दिन सक्दैन । तर हामीले भ्रष्टाचारीलाई कारबाही गर्न दबाब दिइरहेका छौं । तर त्यसले आकार लिन सकेको छैन ।