‘सरकारमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्छ’

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।व्यवस्थापिका संसदमा महिला सहभागिता ठिकै भए पनि कार्यपालिका (सरकार) मा हुन नसकेकाले संसदमाजस्तै सरकारमा पनि महिला सहभागिता सुनिश्चित गरिनु पर्ने उहाँको भनाइ छ ।

दलित महिला केन्द्र नेपालद्वारा शुक्रबार आयोजित महिलाको राजनीतिक सहभागिता र लैङ्गिक समावेशीतामा दलहरुको भूमिका विषयक अन्तरक्रियामा प्रमुख सचेतक लेखकले भन्नुभयो, “संसारभर संसदमा महिलाको सहभागिता २५ देखि ३० प्रतिशतसम्म देखिन्छ । तर हाम्रोमा ३३ प्रतिशत छ । यो नै पूर्ण होइन, तर संसदमाजस्तै कार्यपालिकामा पनि सुनिश्चित गरिनुपर्छ ।”

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदमा ३३ प्रतिशत महिला भए पनि अर्थपूर्ण नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला निर्वाचन क्षेत्र बनाउनु पर्छ सहभागिता परिणाममा खोजिनुपर्छ । हामी प्रतिस्पर्धी र क्षमतावान हुन चाहन्छौं ।”

नेकपा (एमाले) का केन्द्रीय सदस्य जीवन घिमिरेले महिलाको सहभागिता बृद्धि भएको चर्चा गर्दै हरेक क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) की सचेतक रुपा चौधरीले महिलाको ३३ प्रतिशत सहभागिता भए पनि कार्यकारी भूमिका र सरकारमा महिलाको सहभागिता हुन नसकेको चर्चा गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले पार्टीभित्र दास मनोवृत्ति हावी भएकाले पनि महिला सहभागिता चाहेअनुसार हुन नसकिरहेको चर्चा गर्नुभयो ।राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले महिलाका समस्याको यथोचित सुनुवाई हुन नसकेको बताउनुभयो ।