महोत्तरी जिल्लाको विभिन्न ठाउँहरुमा मानव बेचबिखन विरुद्धकाे राष्ट्रिय दिवस मनाइए

महोत्तरी जिल्लाको विभिन्न ठाउँहरुमा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ । जिल्लाको सदरमुकाम जलेश्वरमा जिल्ला प्रशासन कार्यालयको आयोजना तथा विभिन्न पालिकाहरुले आ–आफ्नो पालिका सो दिवस मनाएको हो ।
सदरमुकाम जलेश्वरमा मानवअधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, अधिकारकर्मीहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागितामा सिमानाका भिठामोडसम्म पुगेर सचेतनामूलक ¥याली प्रर्दशन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, नेपाल प्रहरीका प्रहरी उपरिक्षक प्रकाश मल्लसहित मानव अधिकार आयोगको प्रतिनिधि तथा महिला अधिकारको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरु जलेश्वरबाट सिमानाका भिठामोडसम्म प्रभातफेरी गरेका थिए ।
प्रभातफेरीपश्चात आयोजित कोणसभामा प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले विभिन्न प्रलोभनमा पारिएर दलित तथा गरिबी बालबालिका, महिलाहरु वेचविखन र ओसारपसारमा पर्ने गरेको बताउनुहुदै सबैको सामुहिक प्रयास र समन्वयले मात्रै यो कार्य रोक्न सकिने बताउनुभयो ।
त्यसैगरी, प्रहरी उपरिक्षक प्रकाश मल्लले सिमा नाकामा चौबिसै घण्टा सुरक्षाकर्मीहरु तैनाथ रहेर ड्युटी गर्ने र शंका लागेकाहरुलाई केरकार गरी पक्राउ र उद्धार गर्ने गरेको बताउनुहुदै प्रहरीको मात्रै सक्रियताले वेचविखन न्यूनीकरण नहुनेभएकोले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा महिला अधिकारकर्मी रेखा झाले बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको जानकारी दिनुहुँदै मानव वेचविखन र ओसारपसारलाई रोक्न सबैको हातेमालोको जरुरी रहेको बताउनुभयो ।
त्यसैगरी, जिल्लाको मटिहानी नगरपालिकाले पनि विभिन्न विद्यार्थी, भद्रभलादमीहरुको उपस्थितीमा प्रभातफेरी गर्दै १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ । खुला सिमानाकाको कारण महोत्तरीको भंगहा नगरपालिकाबाट दुईपल्ट केही बालबालिकाहरुलाई जागिर र गायिका बनाइदिने बहानामा लग्दै गरेको अवस्थामा प्रहरीले सक्रियता देखाउँदै भारतीय प्रहरीको सहयोगमा सबैलाई भारतको सितामढीबाट उद्धार गर्न सफल भएको थियो ।
प्रतिकृया दिनुहोस्