संसद् खुलाउने सर्वदलीय बैठकको सहमति

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठकले संसद् खुलाउन सहमतिको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार राति बसेको बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गरेको हो ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित समिति गठन गरिएको हो ।
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुँदा आइतबार सहमतिमा पुग्न नसकेका दलहरू सोमबारको बैठकमा पनि साउन ३ गते विमानस्थलबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर बाहिरिँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तस्करीकै सन्दर्भमा छलफल भयो ।
सत्ता साझेदार दलहरूले राजस्व अनुसन्धान विभागको अनुसन्धान सकिएको र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सङ्गठित अपराधमा अनुसन्धान गरिरहेकाले यस सम्बन्धमा छानबिन समिति गठन आवश्यक नरहेको अडान राखेका छन् । तर प्रतिपक्षी एमालेले समग्र अध्ययन अनुसन्धानका लागि छानबिन समिति गठनको माग दोहोर्याएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन सदस्यीय समितिले सहमतिको मस्यौदा तयार पारेर मङ्गलबार बस्ने शीर्ष नेताको बैठकमा पेस गर्ने बताउनुभयो । उहाँका अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने–नगर्ने विषयमा निर्णायक संवाद मङ्गलबार दिउँसो २ बजेसम्म शीर्ष नेताको बैठकबाट मात्रै टुङ्गो लाग्ने छ ।
प्रतिकृया दिनुहोस्