वैदेशिक रोजगारीबाट फर्किएकाको लागि पुनः एकीकरण कार्यक्रम ६८ पालिकाले सञ्चालन गरे

गएको आर्थिक वर्ष वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका ६८ पालिकाले मात्रै पुनः एकीकरण कार्यक्रम सञ्चालन गरेका छन् ।कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेस गरेकामध्ये ६८ पालिकाले मात्रै कार्यक्रम सञ्चालन गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि बोर्डसँग ८१ पालिकाले सम्झौता गरेका थिए ।

बोर्डले पालिकाकै प्रस्तावको आधारमा सम्झौता गरेर पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि रकम पठाएको थियो । तर बोर्डसँग सम्झौता गरेर रकमसमेत पठाइएका ८१ मध्ये १३ पालिकाले कार्यक्रम सञ्चालन गर्न नसकेको बोर्डको भनाई छ ।

गएको आर्थिक वर्ष बोर्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

तर यस वर्ष भने बोर्डले यो कार्यक्रममा लागि बजेट घटाएको छ । यस वर्ष करिब १२ करोड रुपैयाँ बजे विनियोजन गरेको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिनुभयो ।उहाँका अनुसार यस वर्ष बोर्डले एक अर्ब १२ करोड रुपैयाँ बजेटको नीति तथा कार्यक्रम तय गरेको छ ।