December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

सचिवालयबाट छोरी गंगालाई हटाउन प्रचण्डलाई माओवादी नेताहरुको दबाब

नेकपा (माओवादी केन्द्र) को हिजोदेखि सुरू भएको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले नेतृत्वको गलत कार्यशैलीको कारण पार्टी कमजोर बनेको टिप्पणी गरेका छन् । हिजो बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरे ।

उनीहरुले नेताहरुले आफ्नो सचिवालयमा छोरा–छोरी, ज्वाँई, भाई र भतिजाहरु राखेको र असल नेता तथा कार्यकर्ताहरु पाखा लगाईएको गुनासो गरेका थिए । केन्द्रीय सदस्य ओम शर्माले त अध्यक्ष प्रचण्ड यही तवरले नेतृत्वमा अर्को २० वर्ष नेतृत्वमा रहेपनि समाजवादको लक्ष्यमा पुग्न नसकिने ठोकुवा गरे ।

अरु नेताहरुले पनि माओवादीका अहिले सरकारमा भएका नेताहरुले सचिवालयमा आफ्ना आफन्तबाहेक अरुलाई अवसर नदिएको गुनासो गरे । उनीहरुले नेतृत्वले र लाभको पदमा हुनेले परिवारलाई सचिवालयमा राख्नुले पनि माओवादी भ्रष्टीकरणको बाटोमा अघि बढेको प्रमाण भएको दाबी गरेका थिए ।

उनीहरुले जनयुद्धकालमा नेतृत्वलाई जनताका छोराछोरीले सहयोग गरेको भएपनि अहिले सत्ता र शक्तिमा आएपछि भने आफ्नै सन्तान आवश्यक हुनुले पनि पार्टीको भविष्य खराब रहेको स्पष्ट हुने धारणा राखेका थिए । कतिपयले त प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रमुख स्वकिय सचिवमा छोरी गंगा दाहाललाई राखेकोमा आपत्ति जनाए ।

उनीहरुले प्रचण्डको छोरी–मोहको कारण बालुवाटार र सिंहदरबारमा पार्टीका असल नेता तथा कार्यकर्ताहरुले आफ्नो सुप्रिमोलाई भेट्ने र दुःख सुखका कुरा राख्ने अवसरसमेत नपाएको गुनासो पोखेका छन् । उनीहरुले अध्यक्ष प्रचण्डलाई सुध्रिने हो भने पहिला सचिवालयबाट छोरी गंगा दाहाललाई हटाउन घुमाउरो तरिकाले सुझाव दिएका छन् ।

अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको कार्यशैलीलाई लिएर प्रश्न र आलोचना गरेका छन् । केन्द्रीय कमिटीको बैठक आजपनि जारी छ । आज वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतले आफ्नो धारणा राखेका छन् । सो अवसरमा उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका श्रेष्ठले सरकारले भ्रष्टाचारविरुद्ध अभियान छेडेकोले यसलाई निश्कर्षमा पुर्याएरै छाड्ने उद्घोष गरेका छन् ।

उनले प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा आफूले भ्रष्टाचारका ठूला ठूला फाइल खोलेको भन्दै अब कारबाही गर्दै जाँदा आफ्नै पार्टीका नेताहरु पनि भ्रष्टाचारमा संलग्न भएको पाईए नछोड्ने प्रतिबद्धता जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको