अधिवक्ता भगवती पाण्डे थुनामुक्त

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् ।जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनलाई थुनामुक्त गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुध ढुंगेलले बताए ।

उनका अनुसार, प्रमाण लाप गर्ने अवस्था नभएको भन्दै अदालतले हिरासतमा राख्न म्याद दिएन । त्यसपछि दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा उनलाई बुधबार विहान पक्राउ गरिएकी उनलाई छाडिएको उनले बताए ।

पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए । उनीहरुले पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन पनि गर्दै आएका थिए ।