April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

तनहुँको पुलजिपमा अस्थायी प्रहरी पोष्ट स्थापना

मुग्लिन, तनहुँको आबुखैरेनी गाउँपालिका-४ मुग्लिन पुलजिपस्थित अस्थायी प्रहरी पोष्ट शनिवार स्थापना गरिएको छ । उक्त प्रहरि पोष्ट अनुगमन तथा निरीक्षणका लागि गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमाने समेतको उपस्थिति रहेको थियो ।

निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चुमानले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा अवस्थित रहेको उक्त प्रहरी कार्यालयको स्थापनाले प्रदेशकै शान्ति सुरक्षामा अहम भूमिका निर्वाह गर्ने बताउँदै कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन सिमा नाकामा हुनुपर्ने चेकिङ लगायतको सुरक्षा सतर्कतामा थप सहजता प्रदान हुने विश्वास व्यक्त गरेका थिए । साथै प्रदेश अन्तर्गतको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै प्रदेश अन्तर्गत आम नागरिकको सहज पहुँच हुने गरि प्रहरी सेवाको विस्तार र भौतिक पूर्वाधारयुक्त प्रहरी संरचनाको विकास गर्न गण्डकी प्रदेश सरकार तत्पर रहेको समेत बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उक्त प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण तथा
अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने र आम नागरिकका समस्या समाधानका लागि प्रहरीको मनोवल उच्च हुने विश्वास व्यक्त गर्दै प्रदेश अन्तर्गत नेपाल प्रहरीको सेवा विस्तारमा गण्डकी प्रदेश सरकारको तत्परता प्रति आभार व्यक्त गरे ।


कार्यक्रममा आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख शसस्त्र प्रहरी नायव महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो । स्रोत: GSPO P



शीर्ष समाचार

धेरै पढिएको