February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

विज्ञ समूहले दियाे काउन्सिललाई सुझाव

काठमाडौँ, ३१ असार । पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनमा आइतबार सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पुराना र नयाँ सञ्चार माध्यमको नियमन लगायतका विषयमा विस्तृत सुझाव दिइएको समूहका सदस्य एवं नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष महेन्द्र बिष्टले प्रष्ट पारे । उनले सूचीकृत भएर तथा नभइ सञ्चालनमा रहेका अनलाइनका विषयमा काउन्सिलले गरिरहेको अभ्यास, पत्रकार आचारसंहिता, हाल भइरहेको नियमनको कार्यलगायतमा कानुनी र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सुझाव दिइएको बताए ।

यस्तै, अर्का विज्ञ तारानाथ दाहालले प्रतिवेदनको सुझावका आधारमा काउन्सिलले तत्काल सुधारसहितको कार्य थाल्ने विश्वास व्यक्त गरे । यस्तै विज्ञ बबिता बस्नेतले चुनौतिका रूपमा रहेको अनलाइन र युट्युबका नयाँ विषयमा प्रतिवेदनमा समेटिएको उल्लेख गरिन् ।

विज्ञको सुझाव काउन्सिल र नेपाल पत्रकार महासङ्घ लगायत सबैखाले सञ्चार माध्यम र नागरिकका लागि महत्वपूर्ण हुने धारणा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले व्यक्त गरे । प्रतिवेदन ग्रहण गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आवश्यकता महसुस गरेरै विज्ञ समूहलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै सुझावहरूको अनुशरण र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

सञ्चार क्षेत्रको नयाँ चुनौती र अभिव्यक्ति स्वतन्त्रतालाई कानुनअनुसार सुरक्षित गर्ने विषयमा प्रतिवेदनको सुझावलाई कार्यान्वयनमा लैजाने उनको भनाइ थियो । काउन्सिलको सभाहलमा भएको प्रतिवेदन हस्तान्तरण कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले गरेका थिए ।

काउन्सिलले गत असार १९ गते वरिष्ठ पत्रकारहरू तारानाथ दाहाल, डा. महेन्द्र विष्ट र बबिता बस्नेतलाई सुझावसहितको प्रतिवेदन दिन जिम्मेवारी दिएको थियो । दाहाल र विष्ट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुन् भने बस्नेत सञ्चारिका समूहकी पूर्वअध्यक्ष हुन् ।

शीर्ष समाचार

धेरै पढिएको