June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

सीता दाहालको निधनमा शोकसन्तप्त परिवारलाई नै नगरपालिका र विश्वविद्यालयले श्रद्धाञ्जली दिएपछि..

काठमाडौं, २८ असार । पृथ्वीमा भएका सबै वस्तु नासवान छन् । मृत्यु अन्तिम सत्य हो । यो अवश्यम्भावी हो । मृत्यु सबैका लागि भयंकर डरलाग्दो हुने गर्दछ । प्रायः मानिसलाई मृत्युबोधले नै आफ्नो जीवन र समाजप्रति सचेत बनाउँछ ।

वैज्ञानिक तथ्यको आधारमा कोष, तन्तु, अंग, प्रणालीको सन्तुलन स्थायी रुपले बिग्रिँदा मृत्यु हुन्छ । त्यस्तै, दर्शन शास्त्रीय दृष्टिकोणबाट जन्म, मृत्यु, स्वर्ग, नर्क लगायतका कुरा सबै रहस्यमय हुन् । यसको खोज निरन्तर मानव चोला रहेसम्म रहनेमा कुनै आशंका छैन ।

मृत्युले सबैलाई दुःखी बनाउँछ । घर, परिवार, आफन्त, सिंगो समाज र देश कसैको मृत्युमा शोकमा डुब्ने गर्छ । यसअर्थमा चिनेको होस् वा अपरिचित जोसुकै होस् मृत्युले मानिसलाई दुःखी नै बनाउँछ । यस्तो अवस्थामा आफन्त, साथीभाई र इष्टमित्रले शोक सन्तप्त परिवारको दुःखमा एकाकार भएर दुःखमा मलम लगाउने कोशिस गर्छन् ।

प्रविधिको बढ्दो प्रयोग भइरहेको आधुनिक समयमा शोक वक्तव्य निकाल्ने परम्पराको तीब्र विकास भएको छ । शोक वक्तव्य निकाल्नुको उद्देश्य शोकमा रहेका परिवारलाई पीडामा रहेको परिवारलाई शान्तवना प्रदान गर्नु भएपनि यस्तो बेला गरिने सानो गल्तीलेसमेत अर्कै अर्थ प्रदान गर्छ । जसको असर पीडामा रहेकाहरुमाथि झनै पीडाबोध हुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा नवलपरासी सुनवल नगरपालिकाको विज्ञप्तिमा स्वर्गीय सीता दाहाललाईमात्रै श्रद्धाञ्जली नदिइएर शोकसन्तप्त परिवारजन र इष्टमित्रप्रति समेत श्रद्धाञ्जली अर्पण गरिएको छ ।

‘यस दुःखद घडीमा मृत आत्माको चीर शान्तिको कामनासहित सम्माननीय प्रधानमन्त्रीज्यू, शोकसन्तप्त परिवारजन र इष्टमित्रप्रति सुनवल नगरपालिका हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,’– नगर प्रमुख विमला अर्यालको हस्ताक्षर रहेको शोक वक्तव्यमा भनिएको छ ।

त्यस्तै, सीता दाहाल निधनमा लुम्बिनी बौद्ध विश्वविद्यालयले पनि शोक सन्तप्त परिवाजनलाई श्रद्धाञ्जली दिएको छ ।‘सम्माननीय प्रधानमन्त्रीज्यूको सहयोद्धाका रुपमा रही हरेक सुख दुःखमा साथ दिँदै आउनुभएकी दिवंगत सीता दाहालको निधनको यस दुःखद् घडीमा उहाँको सुखावती भूवनमा बासको कामना गर्दछौं । साथै शोक सन्तप्त परिवाजनमा अनित्य अभ्यूदयको कामनासहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं,’– लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यी प्रतिनिधि पात्रमात्रै हुन् । समवेदना र श्रद्धाञ्जलीको फरकसमेत थाहा नहुनु भनेको शोक वक्तव्य केवल देखावटीका लागिमात्रै जारी भएको प्रष्ट हुन्छ । जन्मेपछि मृत्यु निश्चित छ । केवल ढिलो चाँडोमात्रै हो ।

श्रद्धाञ्जली र समवेदना पनि छुट्याउन नसक्ने बेलुने बौद्धिकता भएकाहरुको शोक वक्तव्यले कुनै अर्थ राख्छ जस्तो लाग्दैन । बरु यसले पीडामा रहेको परिवारलाई झन पीडा दिन्छ र मृतात्माको अपमान हुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको