December 4, 2023, Monday
२०८० मंसिर १९, मंगलवार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको जिम्मेवारी खोस्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको जिम्मेवारी खोस्ने तयारी गरेका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले माओवादीबाटै सरकारमा सहभागी एक मन्त्रीको जिम्मेवारी खोस्ने भएका हुन् । अहिले माओवादीबाट प्रधानमन्त्री दाहालसहित पाँच मन्त्री छन् ।

उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारीमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ छन् । यस्तै, सञ्चारमा रेखा शर्मा, उर्जामा शक्तिबहादुर बस्नेत, पर्यटनमा सुदन किराँती र संघीय मामिलामा अमनलाल मोदी छन् । जनमतले प्रधानमन्त्री दाहाललाई विश्वासको मत कायमै राखेको छ । जनमत पुषमै सरकार गठन हुँदा सरकारमा सहभागी थियो ।

तर, पछिल्लो समय भने उसले भनेको मन्त्रालय नपाएको कारण सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुनको लागि जनमतलाई धेरै अघिदेखि नै प्रस्ताव गरिरहेका थिए । तर, विभिन्न कारणले जनमतको सरकारमा सहभागितामा ढिलाई भैरहेको थियो । आज विहान भने प्रधानमन्त्री दाहालले जनमतका अध्यक्ष सिके राउतलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।

सो छलफलमा राउतले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिश गरेका छन् । उनले अनितादेवीको नाम मन्त्रीको लागि सिफारिश गरेका छन् । प्रधानमन्त्री दाहालले भोलि नै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले मन्त्री मोदीलाई फिर्ता बोलाउने निधो गरिसकेका छन् ।

मन्त्री मोदीले पनि आफू बिदा हुने मुड बनाईसकेका छन् । तर, यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा पर्यटनमन्त्री सुदन किरातीको पनि जिम्मेवारी खोसिने सक्ने चर्चा चलेको थियो । अहिलेपनि मन्त्रीहरु मोदी र किरातीमध्ये एकलाई हटाएर जनमतलाई सरकारमा सहभागी गराउने दाहालको तयारी छ । माओवादीनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले मोदीलाई नै हटाउने निधो गरिसकेका छन् ।

जनमतले भने विकासे मन्त्रालय मागेको छ । राउतले प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा पनि आफ्नो दलले पहिलेपनि उद्योग वा कृषिमध्ये एक मन्त्रालय मागेको स्मरण गराउँदै यसपटकको मन्त्रिपरिषद हेरफेरमा विकास मन्त्रालय दिन माग गरेका छन् । जवाफमा प्रधानमन्त्री दाहालले गठबन्धनभित्र छलफल गर्ने वचन दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको